ताजा समाचार


कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

sudurpaschim     २०७८ चैत्र ८, मा प्रकाशित


झापा । कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ। त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन्। जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए। त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन्।

दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिक जसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ। कोभिडको सङ्क्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए।

“कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझें र यसको प्रयोग गरे”, उनले भने, “अरु तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएको कारण बिक्री हुन छाड्यो।” योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो। सुरुका दिनमा प्रतिकिलो रु एक हजार ४०० मा बिक्री गरेको कुरिलो हाल थोक मूल्य ४०० ले बिक्री गरिरहेको किसानको भनाइ छ।


प्रतिक्रिया




Top